चीनमा यागी नामको चक्रवातले २ जनाको मृत्यु, ९२ घाइते

२०८१ भाद्र २२, शनिबार

चीन : दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीका कारण कम्तीमा दुई जनाको मृत्यु तथा ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन्।

यागीका कारण चीनको डिङ्गान काउन्टीमा दुई जनाको मृत्यु भएको हो भने वेन्चाङ सहरमा शनिबार १२ जना र हाइकोउ सहरमा ८० जना घाइते भएको प्रान्तीय प्रशासनले जानकारी गराएको छ।

आँधी र वर्षा कम भएपछि हाइनानमा यागीका कारण जारी गरिएको चेतावनी अन्त्य गरिएको छ भने प्रान्तभर उद्धार सुरु गरिएको छ। विद्युत्‌का कर्मचारीहरूलाई प्रभावित घरहरूमा बिजुली जोड्न परिचालन गरिएको छ ।

वर्षा र आँधीका कारण अवरुद्ध ८९ वटा सडकमध्ये ५१ वटाको सडकको मर्मत सम्भार भइरहेको जनाइएको छ। प्रवाभित क्षेत्रमा रेल सेवाहरू शनिबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिएको छ भने किओङझाउ प्रान्तमा आइतबार साँझ मात्र सेवा पुनः सुरु हुने अनुमान गरिएको छ।

यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहनेछ भने सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार उडान सेवा पुनः सुरु गर्ने जनाइएको छ।

प्रान्तभरि १२ हजार ५०० भन्दा बढी सञ्चार स्टेसन क्षतिग्रस्त भएको वेन्चाङ सहरले सञ्चार सुविधामा सबैभन्दा बढी क्षति बेहोरेको छ भने पुनःस्थापनाका लागि कर्मचारी खटिएका छन्।

शुक्रबार पहिले चीनको हाइनानमा अवतरण गरेको यागीले त्यसपछि गुआङडोङ प्रान्तलाई प्रभावित पार्दै बिस्तारै भियतनामतर्फ मोडिएको छ। शनिबार भियतनामले तटीय क्षेत्रमा यागीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट सावधानी अपनाउन चेतावनी जारी गरेको छ। रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार