काठमाडौं : ‘हिंसा’ शब्दलाई लिएर सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच फेरि चर्काचर्की भएको छ। भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वलाई पटक-पटक ‘हिंसा’ भनेका थिए। त्यतिबेला पनि एमाले-माओवादीबीच भनाभन भएको थियो।
त्यतिबेला माओवादीले जनाएको नियमापत्तिबारे सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा निर्णय सुनाउँदै उक्त शब्द असंसदीय नरहेको रूलिङ गरेका थिए।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्यव्यवस्था समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतको आधारमा विषय प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त ‘हिंसा’ भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ उनले भने।
उनले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा नियमापत्ति भइरहेको बताउँदै शब्द चयनमा ध्यान पुर्याउन सांसदहरूलाई आग्रह गरे।सभामुखको रूलिङपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधान मूल कानुन रहेको र यसले सशस्त्र संघर्षहरूको व्याख्या गरेको जानकारी गराउँदै सभामुखको सचिवालयलाई रूलिङबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।
उनले सत्तापक्ष सांसदहरूले नियत राखेरै माओवादी ‘जनयुद्ध’ लाई होच्याउने र अपमान गर्न खोजेको बताए। आफ्नो नियमापत्तिबारे लामो समयपछि रूलिङ आएकोमा पनि प्रमुख सचेतक पाण्डेले प्रश्न उठाए।
‘संविधान र शान्ति सम्झौताको विपरीत शब्दहरू प्रयोग गर्दै जाने हो भने हामीलाई कहाँ लैजान्छ?,’ उनले भने। त्यसपछि एमाले सांसद रघुजी पन्तले पाण्डेको अभिव्यक्ति खण्डन गर्दै ‘हिंसा’ शब्द आफैमा असंसदीय नहुने जोड दिए। संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको तर विपक्षी दलहरूले आत्मालोचना नगरेको बताए।
‘हिंसा’ भन्ने शब्द कयौं पटक प्रयोग भएको छ। आफै असंसदीय शब्द होइन भनेर बारम्बार भनेको छु। व्यक्तिलाई तोकेरे ‘हिंसा’त्मक भन्न मिल्दैन। व्यक्तिलाई देखाएर भन्न पाइँदैन। तर राजनीतिक रूपमा, तपाईंहरूले राजनीति गर्दा व्यक्ति हत्या गर्नुभएको छ भनेर पटक-पटक भनेको छु,’ सांसद पन्तले भने।
सांसद पन्तले एमालेले झापामा भएको व्यक्ति हत्या उग्र वामपन्थी भयो भनेर स्वीकार्दा माओवादीले अहिलेसम्म आत्मालोचना गर्न नसकेको र पटक-पटक सभामुखको रूलिङमाथि प्रश्न उठाइएको बताए। ‘२००७ सालमा भएको, कांग्रेसले नेतृत्वमा कतिपय वामपन्थी नेतृत्वमा सामेल भएर राणाविरोधी आन्दोलन गरियो त्यो आन्दोलनलाई सकारात्मक रूपमा हेरिएको छ। उहाँहरूले आत्मालोचना गर्नुभएको छैन,’ उनले भने।





