युक्रेनको जित अमेरिकामा निर्भर : जेलेन्स्की

२०८१ भाद्र २७, बिहीबार

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको किएभको भ्रमणको क्रममा जेलेन्स्कीले यो प्रतिक्रिया दिएका हुन्।

‘जहाँसम्म जितको योजनाको प्रश्न छ, यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्छ’, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने। ​जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताए। उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको समेत बताए।

जेलेन्स्कीको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको हो। डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ।

युक्रेनले जुनमा स्विट्जरल्याण्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन। त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराउनुपर्ने बताएका छन्।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्ता अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार