दुई तिहाई बहुमतको दम्भ नदेखाउन माधव नेपालको आग्रह

२०८१ भाद्र २८, शुक्रबार

उदयपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन सबै जनताको चासोको विषय भएकाले दुई तिहाई बहुमतको दम्भ नदेखाउन आग्रह गरेका छन्।

पार्टी जिल्ला कमिटी उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको सन्देशसभामा बोल्दै उनले संविधानलाई आफ्नो पेवा ठानेर संशोधनलाई हलुका नठान्न सत्तारुढ दललाई चेतावनी दिएका हुन्। उनले भने,‘हामीसँग दुई तिहाई छ भन्ने ठानेर संशोधन गरिहालौला सानो पार्टीलाई समाप्त पारिदिउँला, ठूलाको वर्चस्व कायम राखौंला भनेर एमाले त्यो बाटोमा हिँडेको छ, यस्तो अवस्थामा नेपाली काँग्रेसले सजकता अपनाउनु पर्नेछ, सोच्नुपर्दछ।’

‘संविधान संशोधनका लागि दुई ठूला पार्टीका नेता राति गोप्य सम्झौता गर्छन्।’ पूर्वप्रधानमन्त्री नेपालले भने,‘यो गोप्य सम्झौता मानिने छैन्,यो जनताको चासोको विषय भएकाले यहाँका नागरिक समाज, राजनीतिक दल, आम जनतासँग छलफल गर्नुपर्छ।’

पुर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यो देशको अर्थतन्त्र मुनाफा केन्द्रित नभई जनता केन्द्रित र प्रकृतिप्रेमी हुनु पर्ने बताए। उनले पानीबाट बिजुली उत्पादन गरी भारत, बंगलादेश, चीनमा बिक्री गर्नुपर्ने बताए। ‘देश सम्पन्न भयो भने मात्र कसैले हेप्दैनन्,’ नेता नेपालले भने, ‘सधैं गरिब, सधैं सहयोग माग्नु पर्ने भएकाले हेपाईमा परेका छौँ, तसर्थ जनतादेखि नेता सबै सच्चिएर इमान्दारिताका साथ देश विकासमा लाग्नु पर्छ।’

उनले नेकपा एसका नेताहरु एमालेमा जाँदै छन् भनेर हल्लाको पछि नलाग्न आग्रह गरे। अध्यक्ष नेपालले देशलाई अघि बढाउने सिलसिलामा सबै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकठाउँमा ल्याएर अघि बढाउन तयार रहेको बताए। उनले सिद्धान्त, विचार, भावना मिलेको खण्डमा सबैलाई समेटेर, सहकार्यका लागि वाम मोर्चा बनाएर अघि बढ्ने बताए। उनले भने, ‘काम गर्दै गर्दा,सबै कुरा मिलेको खण्डमा आफूहरू काँचो एकता नभई परिपक्क एकता गर्न तयार छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार