काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बसेको संवैधानिक परिषद् बैठक अनिर्णीत भएको छ।
प्रधानन्यायाधीश सिफारिससम्बन्धी एक मात्र एजेन्डामा बसेको बैठकबाट कुनै निर्णय नभएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न नसकेपछि अर्को बैठक भदौ ३१ गते बोलाइएको छ।
बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो।
यसअघि प्रधानमन्त्री ओलीले बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार स्थगित भएको बैठक आज बसे पनि निर्णय हुन नसकेको हो। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्।
प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ।





