काठमाडौं : सत्तारुढ नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गरेका हुन्। एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको उनको जिकिर थियो ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । तर सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिएका थिए। त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताए । उनले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको बताए।
प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराए ।
उनले भने,‘यसलाई सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आ आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमती भएर बोलेको कुरा हुँदैन पहिलो कुरा । दोस्रो कुरा, अव त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ । कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन । अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरु दिँदाखेरी विभिन्न विशेषणहरुको प्रयोग हुन्छ । उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ । यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आईपुगेका छौं । एकैठाउँमा हामी संसदमा छौं । त्यसो हुनाले अव हामीले ती विषयहरुलाई कोटर्याइरहनुपर्ने आवश्यक छैन । तथापि अब एउटा सांसद सदस्यले कुनै विषयमा बोल्दा कुनै शब्द प्रयोग ग¥यो । ती शब्दहरु प्रयोग नै नभएका शब्दहरु पनि होइनन् । त्यसो हुनाले यी विषयहरुलाई चाहीँ अतिशयोक्तिपूर्ण तरिकाबाट नलिएर जुन कामका लागि हामी यहाँ संसदमा निर्वाचित भएर आएका छौं । विभिन्न विधेयकहरु छन । यसमा गम्भिर छलफलमा हामी केन्द्रित हुनुपर्छ । कहिले कोही सत्तामा हुन्छ, कोही विपक्षमा हुन्छ । हामी विपक्षमा हुँदा ज्याँदै हतोत्साही हुने र अत्यन्तै ज्याँदा प्रतिक्रियात्मक हुने र हुँदाखेरी फेरी बेग्लै रुपमा आफूलाई लिने काम हामीले गर्नु हुँदैन । धेरै कुराहरु हामीले सँगै बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ । त्यसकारण यसलाई मलाई लाग्छ–यसलाई छिटो टुंग्याउनु पर्छ । र संसदको प्रक्रिया अघि बढ्नुपर्छ ।’
प्रवक्ता महतले सहकारी काण्डमा विवादमा तानिएका सबैलाई सरकारको सम्बन्धित निकायले छानविन गर्नुपर्ने धारणा समेत राखे ।





