काठमाडौं : यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लन्डनमा सम्पन्न भएको छ । चलचित्रमा अनमोल केसी ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारीले ‘प्रसाद–२’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् ।
‘जारी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड ‘दिमाग खराब’बाट आकाश बरालले हात पारेका छन् ।
‘प्रसाद–२’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छांयाकार ‘प्रसाद–२’ बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपूत सर्वोत्कृष्ट संगीतकार ‘बोक्सीको घर’ (बुझिन मैले), कालिप्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी)बाट घोषित भएका छन् ।
समीक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले)बाट सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरेँ)ले अवार्ड हात पारेका छन् ।
वर्ष २०२४ को पपुलर अभिनेताको अवार्ड दयाहाङ राईले ‘जारी’बाट जितेका छन् । यही चलचित्रबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड जितेकी छन् । सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ ‘पुजार सार्की’बाट प्रदीप खड्का र सुपला सापकोटा ‘बोक्सीको घर’बाट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।
पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जितेका छन् । पब्लिक च्वाईसतर्फ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङले अवार्ड पाएकी छन् ।
लाइफटाइम एचिभमेन्ट अवार्डबाट भुवन केसी सम्मानित भएका छन् ।