काठमाडौं : प्रतिनिधि सभाको चालु चौथो अधिवेशनमा १४ जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । त्यसमा चार जना सांसद अधिवेशनभरी नै अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ । गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।
संसद् सचिवालयका अनुसार, नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ, राप्रपाका दीपक बोहरा तथा नेपाली कांग्रेसकी अम्बिका बस्नेत र मनोरम शेरचन अधिवेशन अवधीभर नै अनुपस्थित रहे । मस्तिष्कघात भएका नेम्बाङको उपचार चलिरहेको छ । उनी अघिल्लो अधिवेशनमा पनि उपस्थित भएका थिएनन् । बोहरा, बस्नेत र शेरचनको पनि स्वास्थ्य उपचार जारी छ ।
यस्तै राप्रपाकी गीता बस्नेत ४७ वटा बैठकमा अनुपस्थित रहिन् । राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, कालुराम राई र नारायणप्रकाश साउद पनि १० भन्दा बढी बैठकमा अनुपस्थित रहेका थिए ।