काठमाडौँ : ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।
समितिले प्रतिवेदन बुझाउँदै सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएको ठहरसहित अध्यक्ष जीबी भनिने गीतेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका प्रबन्धनिर्देशक लामिछाने तथा सञ्चालकद्वय कुमार रम्तेल र छबिलाल जोशीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो।
समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् ।’ समितिले कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रस्ट पारेको छ ।