शिक्षाको गुणस्तर बढाउन अभिभावक सुधार्नुपर्छ : मुख्यमन्त्री लामा

२०८१ आश्विन २, बुधबार

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रको गुणस्तर र नतिजामुखी बनाउन अभिभावकहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अभिभावकको निगरानीमा बालबालिकाहरु राख्न सकेमा शैक्षिक गुणस्तर सुधारमा उपलब्धिमूलक नतिजा हासिल हुने बताए । बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले शैक्षिक गुणस्तर कायम गर्न सहयोग मिल्ने उनको भनाई छ । शिक्षक अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने उनले बताए ।

मुख्यमन्त्री लामाले असल नागरिक निर्माणका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको उनको भनाई छ । शिक्षालाई अनुसन्धानात्मक र व्यवहारिक बनाउन जरुरी रहेको उनको भनाई छ । सोही अनुसार बागमती प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताए ।

उनका अनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान अभिवृद्धिमा अघि बढ्नुपर्ने हुन्छ । उक्त कार्यका लागि तीन तहका सरकार बिचको दरिलो समन्वय र संयन्त्र विकास गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । पठनपाठनको प्रवृत्ति सुधार गर्दै शिक्षाको गुणस्तर कायममा सरकारले भूमिका खेल्नुपर्ने उनको भनाई छ । असान्दर्भिक ऐन नियम र कानुनलाई समयानुकूल परिमार्जन गरेर शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना निर्माण गर्न निर्देशन दिइन् । युवा, विद्यार्थी पलायन रोक्न र दक्ष जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार