काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको हो ।
छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिनको प्रतिवेदन सोमबार संसद्मा बुझाएको थियो । लगत्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।





