
काठमाडौं : सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ।
उक्त प्रतिवेदन सार्वजनिक भएसँगै स्वर्णलक्ष्मी सहकारीसहित विभिन्न सहकारीबाट करोडौं रकम अपचलन भएको प्रकरणमा मुख्य अभियुक्त मानिएका गितेन्द्रबाबु राई (जिबी) फरार छन्। उनी मलेसिया रहेको आशंकामा नेपाल प्रहरीका दुई जना अधिकारी १० दिन त्यहाँ गएको खुलेको हो।
उनलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयको स्वीकृतिपछि भदौ ७ गते एक जना प्रहरी उपरीक्षक र एक जना प्रहरी नायब निरीक्षक मलेसिया खटिएका थिए। उनीहरू १० दिन बसेर भदौ १७ गते फिर्किएका थिए। त्यहाँ खटिएका प्रहरी अधिकारीले पनि केही फेला पार्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
राईलाई पक्राउ गर्नका लागि कूटनीतिक तवरबाटै काम भइरहेको भन्दै एनसिबी क्वालालम्पुर र मलेसियन प्रहरीले कुनै जानकारी नदिएको उल्लेख गरिएको छ।
‘मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको, एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारीहरू माग गरिएकोमा कुनै जबाफ नआएपछि फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा उल्लेख छ।