
काेलम्बो : श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भइरहेको छ । शनिबार बिहान ७ बजेदेखि सुरू मतदानलाई देशको आर्थिक सुधारसम्बन्धी जनमतसंग्रहका रूपमा हेरिएको छ । स्थानीय समय अनुसार ४ बजेसम्म हुने मतदानको प्रारम्भिक नतिजा आइतबार बिहान आउने बताइएको छ ।
श्रीलंकाको इतिहासकै खराब आर्थिक संकटका कारण सुरु भएको जनप्रदर्शनपछि सन् २०२२ को जुलाईमा राष्ट्रपति गोटाबाया राजपाक्ष देश छाडेर भाग्न बाध्य भएका थिए । उनले सिंगापुर पुगेर राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । उक्त आर्थिक संकटपछि राज्यले दिँदै आएका कतिपय अनुदान कटौती गरिएको थियो । त्यस्तै, करको दरमा वृद्धि गरिएपछि अधिकांश जनताले गुजाराका लागि संघर्ष गरिरहेको बताइन्छ । जसका कारण देशको आर्थिक मुद्दा नै मतदाताको केन्द्रमा रहेको छ ।
श्रीलंकालाई आर्थिक संकटबाट माथि उठाउने जिम्मेवारी पाएका ७५ वर्षीय राष्ट्रपति रनिल विक्रमासिंघेले अर्को कार्यकाल ताकेका छन् । गोटाबाया राजापाक्ष अपदस्थ भएको एक सातापछि उनी संसद्बाट राष्ट्रपतिमा नियुक्त भएका थिए । तर राष्ट्रपति बनेको केही समयपछि उनीमाथि आन्दोलनको कार्यभारलाई बेवास्ता गरेको आरोप लागेको थियो । उनीमाथि राजापाक्ष परिवारलाई अभियोग लाग्नबाट बचाएको र पुनः एकत्रित हुने अनुमति दिएको आरोप छ । तर उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रपतिका अर्का दाबेदार वामपन्थी राजनीतिज्ञ अनुरा कुमारा दिशानायके हुन् । भ्रष्टाचारविरोधी अभियानका कारण व्यापक जनसमर्थन बटुलेका उनी बलियो उम्मेदवार हुन् । त्यसबाहेक सजिथ प्रेमदासा र अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजापाक्ष पनि चर्चामा रहेको बीबीसीले जनाएको छ । चुनावी मैदानमा ३८ उम्मेदवार छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डमा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच हुने दोस्रो चरणको चुनावबाट राष्ट्रपति निर्वाचित हुनेछन् ।