अवैध पुँजी परिचालनमा रविलाई कारबाही हुनुपर्छ : माओवादी सांसद दाहाल

२०८१ आश्विन ५, शनिबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् ।

गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । नेता दाहालले सहकारी ठगीको विषयमा रवि लामिछानेको विषय सबैभन्दा चासोको रूपमा हेरिएको स्मरण गराउँदै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगको रूपमा स्थापित नभएको खण्डमा राजनीतिबाट संन्यास लिने घोषणा गरेको समेत स्मरण गराए ।

‘हाम्रो अध्ययन, तथ्य र प्रमाणले उहाँलाई सहकारी ठगी प्रकरणमा हामीले संलग्नता देख्दैनौ । सञ्चालक, व्यवस्थापक, कुनै सदस्य भेटिएन । सहकारीबाट ऋण लिएको देखिँदैन,’– उनले भने ।

सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ६५ करोड पुगेको र त्यो रकम खर्च गर्ने कार्यमा भने लामिछानेको संलग्नता पुष्टि भएको उनले बताए । त्यहाँ भएको पुँजी परिचालनमा लामिछानेको संलग्नता देखिएको उनले बताए ।

नेता दाहालका अनुसार लामिछानेले बयानका क्रममा पुँजी परिचालनमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर, समितिले प्रमाण र तथ्यका आधारमा पुँजी परिचालनमा उनको संलग्नता पुष्टि गरेको उनले बताए ।

‘सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए पनि गैरकानुनी पुँजी परिचालनमा उहाँको संलग्नता देखिइसकेपछि उहाँलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ, कारबाही गर्नुपर्छ भनेर हामीले सिफारिस गरेका छौँ । त्यहाँ काहीँ आग्रह पूर्वाग्रह छैन । अब कानुनी हिसाबले अब थप अनुसन्धान गर्नुपर्ने भयो,’– उनले भने ।

सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए । जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । एकै सहकारीबाट ३२ अर्बसम्म हिनामिना भएको पाइएको उनले बताए । सहकारीबाट जीबी राईले ८ अर्ब र भरत महर्जनले १४ अर्ब ठगी गरेको उनले बताए । ठगी भएको रकम बेलायत लगायतका देशमा पुगेको पनि उनले बताए ।

विगतका दुई महिनामा गैरकानुनी राजनीतिक नियुक्ति, सरुवा बढुवा भइरहेको र अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम भइरहेको बताए । केपी ओलीको पुरानो व्यवहार पुनः दोहोरिने खतरा रहेको उनले बताए ।

सरकारमा रहँदा सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्न सङ्कल्पका साथ काम गरेको बताउँदै उनले प्रतिपक्षमा पनि त्यही भूमिकामा रहेर काम गर्ने बताए ।

सहकारी ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन तयार गर्ने क्रममा निष्पक्षता र तटस्थता कायम राख्ने प्रतिबद्धता गरेको र त्यहीअनुसार काम भएको उनले बताए । नेता दाहालले समितिले सरकारलाई सहकारीका सन्दर्भमा प्रस्टसँग सुझाव र निर्देशन दिएको पनि बताए । समितिले सहकारी ठगका चल अचल सम्पत्ति जफत गरेर पीडितहरूलाई न्याय दिन सरकारलाई निर्देशन दिएको पनि उनले बताए ।

साथै, सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि उनले बताए । बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसके पनि भारतमा लुकेर बसेका केही सहकारी ठगलाई ल्याइदिनुस् भनेर समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको उनको आरोप छ । भ्रष्टाचारीहरूको विरुद्धमा कारबाही प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै स्थगित भएको उनले बताए । सरकारलाई समितिले घर नम्बर र लोकेसनसमेत दिँदा पनि सहकारी ठगहरू पक्रेर ल्याउन सरकारले सहयोग नगरेको उनको गुनासो छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई समितिमै बोलाएर भन्यौँ । किन भएन ? गुनासो पोख्यौँ । किन सरकार र गृह मन्त्रालय अनिच्छुक छ ? घर नम्बर र लोकेसनसमेत दिँदा पनि सरकार त्यहाँ किन पुग्दैन ?’ उनले भने ।

नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरू कांग्रेस–एमालेका नेताहरू रहेकाले कारबाही हुनेमा आशङ्का व्यक्त गरे । ‘आफ्नै कार्यकर्तालाई हतकडी लगाउन गठबन्धन सरकार तयार हुन्छ कि हुँदैन ? केपी ओली तयार हुनुहुन्छ कि हुनुहुँदैन ? शङ्का छ,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार