
काठमाडाैं : राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेका छन् । उनले इन्द्रजात्राको अन्तिम दिन शनिवार राति वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए ।
हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवं प्रसाद ग्रहण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गरे । टीका र प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साटेका थिए । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि शुरू हुने इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो जात्रा हो ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व शनिवार भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ ।