यस्तो छ दुर्गा प्रसाईं पक्राउ पर्नुको कारण

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : प्रहरीले आइतबार अपराह्न दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। भक्तपुरस्थित घरबाटै प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रसाईं मेडिकल व्यवसायी हुन्। तर पछिल्लो समय उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा गतिविधि गरिरहेका थिए।

प्रसाईंमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको पनि उजुरी छ। सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले त्यसको विरोध गर्दै खारेज हुनुपर्ने बताइरहेका थिए।

उनका समर्थकले शनिबार साँझ मशाल जुलुससमेत निकालेका थिए। आइतबार दिउँसो भक्तपुरस्थित प्रसाईंको घरमा साइबर ब्युरोका प्रहरीहरू पुगेका थिए। त्यसबेला उनले गेट खोल्न मानेका थिएनन्। भर्‍याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिएको छ।

पक्राउ गरेर साइबर ब्युरो ल्याइसकेपछि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफू लडिराख्ने अभिव्यक्ति दिएका थिए। प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेपछि प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो।प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेकोले सोहीअनुसार अब अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ। साइबर ब्युरोले प्रसाईंलाई यसअघि पनि आपत्तिजनक अभिव्यक्ति नदिन पटकपटक सचेत गराउँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार