ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ ।
दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम शुरू भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ ।





