उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २९ जना घाइते

२०८१ आश्विन ८, मंगलवार

उदयपुर : उदयपुर बेलका नगरपालिका–८, डुम्रीबोटेमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन्। जसमा १५ जनाको अवस्था गम्भीर छ।

सप्त नदीस्थित आर्यघाटमा मृतकको शव बिसर्जन गरेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी सीताराम राईका अनुसार बेलका–५ घुम्नेका मृतक लक्ष्मण कटुवाल र भद्रमाया पाण्डेको शव अन्त्येष्टि गरेर फर्कने क्रममा प्रदेश ०१–००२–००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत बेलका–८ को घुम्तीमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार स्थानीय र कोठु प्रहरी चौकीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। गम्भीर घाइते १५ जनालाई धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। यसैगरी अन्य १४ जनाको बेलका नगर अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले थपलाई पनि धरान पठाउने तयारी भइरहेको एसपी योगीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार