माओवादीले रविलाई साथ नदिने

२०८१ आश्विन ९, बुधबार

काठमाडाैं : हठात सत्ता छाड्नुपरेपछि विपक्षीका रूपमा सँगै मोर्चाबन्दीमा रहे पनि नेकपा (माओवादी केन्द्र)ले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ नदिने भएको छ ।

सरकारबाट बाहिरिएलगत्तै दुवै दलले विपक्षी मोर्चालाई कसिलो बनाएर मुद्दामा सहकार्य गर्ने बताउँदै आएका छन् । तर, सामान्य नागरिकले आफ्नो गाँस कटाएर सहकारीमा बचत गरेको रकम हिनामिनामा रास्वपाका सभापति नै मुछिएको विषयमा भने माओवादी रास्वपासँग नउभिने भएको छ ।

‘राजनीतिकरूपमा रास्वपाका कतिपय अष्पस्टता छन् । तर, प्रतिपक्षी र विपक्षमा भएको हिसाबले मुद्दा केन्द्रित हुँदै संविधानको रक्षार्थ हामी प्रतिपक्षमा बसेर संसद्भित्र सहकार्य गर्ने स्थितिमा अहिले छौं,’ लेखनाथ दाहालले भने, ‘तर, राजनीतिक हिसाबमा हुने प्रतिपक्षी मोर्चा र सहकारीमा भएको करोडौं/अर्बौं रुपैयाँको विषय फरक हो । हामीले सर्वसम्मत प्रतिवेदन ल्याएका छौं । यसमा लेखेरै सहकारी ठग, रकम दुरुपयोग गर्ने संस्थाका सञ्चालक, विभिन्न पात्र र व्यक्तिको किटान गरेका छौं ।

‘हामीले सहकारी ठगीमा धेरै विषय स्पष्ट किटान गरेका हौं । यसैले अझै पनि कुनै विभेद नगरी थप छानबिन गर्ने र प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा छौं । रवि लामिछानेलाई समाउँदा धनराज गुरुङ र ऋषिकेश पोखरेलहरूलाई पनि समाउनुपर्छ,’ उनले भने ।

नागरिकले दुःखले जम्मा गरेको पैसा अपचलन माओवादीबाटै भए पनि त्यो मान्य नहुने देवेन्द्र पौडेल बताउँछन् । ‘नागरिकले दुःखले जम्मा गरेको पैसा सहकारीमा अपचलन हुन्छ र गल्ती भएको छ भने पार्टीकै साथीहरू त कानूनी दायरामा आउनुपर्छ,’ पौडेलले भने, ‘यस्तोमा विपक्षी मोर्चामा सँगै छौं भनेर कसैले उन्मुक्ति पाउनुपर्छ भन्ने हाम्रो मत छैन ।’

विपक्षी मोर्चा र मुद्दाको विषय अलग–अलग भएको उनको भनाइ छ ।‘यतिखेर देशभर लाखौं सहकारीपीडितको करोडौं, अर्बौं रुपैयाँ अपचलन भएको छ । यसका दोषी कोही पनि उम्किनुहुँदैन,’ पौडेलले भने, ‘तर, विपक्षीको मोर्चा र मुद्दा फरक हुन् । यसलाई एउटै डालोमा हाल्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार