रामेछाप : सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले देश गम्भीर संकटको अवस्थामा पुगेका कारण एमालेले सरकारको नेतृत्व गर्ने गरी हस्तक्षेप गरेको बताएका छन् ।
उटपट्याङ कुरा गर्ने र त्यसको पछि जनमत दौडनेले कुरा निकै संवेदनशीले भएको भट्टराईले बताए । भट्टराईले आफ्नो कम्पनीमा कति पैसा कहाँबाट आयो भन्ने कुरा थाहा छैन भनेर एउटा कम्पनीको प्रबन्ध निर्देशकले दिउँसै रात पार्ने कुरा गरेका टिप्पणी गरे । ‘दिउँसै रात पार्न पाइन्छ ? यति बुद्धु बनाउने हामीलाई ?’ उनले प्रश्न गरे ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय समितिले कारबाहीको लागि सिफारिस गरिसकेकाले उनीमाथि कारबाही हुने उनले स्पष्ट पारे । ‘कानुन अनुसार उसलाई कारबाही हुन्छ, त्यो प्रक्रिया अघि बढेको छ’, भट्टराईले भने । भट्टराईले अहिले विश्व परिस्थिति पनि निक्कै जटिल बन्दै गएको बताएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति हिजोभन्दा आज अझ बिग्रँदै गएको भट्टराईले बताए ।
हिजो सहकार्य गरेका शक्तिहरू समेत आज युद्धमा रहेका भट्टराईले उदाहरण प्रस्तुत गरे । ‘विश्व अशान्तितर्फ उन्मुख भइरहेको छ, द्वन्द्वतर्फ उन्मुख भएको छ’, भट्टराईले भने । सामाजिक सञ्जाल र समाचारको पछाडि दौडिएर पार्टी नबन्ने पनि उनले बताएका छन् । विचार र नीतिमा स्पष्ट नभएकाहरूले आजको चुनौतीको सामना गर्न नसक्ने भट्टराईले बताए ।





