खोटाङका दुई ठाउँमा खुकुरी प्रहारका घटना, दुई जना घाइते

२०८१ आश्विन २७, आईतवार

खोटाङ : खोटाङमा खुकुरी प्रहारका दुईवटा घटना भएका छन् । खुकुरी प्रहारका छुट्टा–छुट्टै घटनामा दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट साकेला गाउँपालिका–३ खिदीमामा २५ वर्षीय झरना राई र उक्त गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाडाँका २६ चन्द्रकुमार राई घाइते भएका हुन् ।

खिदीमाका २७ वर्षीय रवीन राईले नाताले बहिनी पर्ने झरनालाई शुक्रबार साँझ खुकुरी प्रहार गरी सख्त घाइते बनाएको र रवीनलाई त्यसै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

झरनाको बाँया हातमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ । ‘काका–बडाबाउका छोरा–छोरीभित्रैको झगडा हो,’ विष्टले भने, ‘रविन राईलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान बढाएका छौँ ।’

त्यस्तै, साकेला गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाँडाको डाँडागाउँमा आफ्नै भाइको खुकुरी प्रहारबाट २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । शनिबार बिहान करिब साडे ११ बजेतिर मादक पदार्थ सेवन गरी २० वर्षीय महेश राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा घाइतेको उपचार हुन नसकेपछि उनलाई पनि अन्यत्रै पठाइएको डीएसपी बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार