काठमाडाैं : नेकपा (एमाले) स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिएर पार्टी कार्यालय बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख मतदाताको अपमान भएको बताएकी छन् ।
‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम सच्याउन पनि उनले आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरुङले बनाइदिन लागेका हुन् ।
‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेकेा गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौं,’ फेसबुकमा उनले लेखेकी छन् ।
एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । सोही जग्गामा उनीहरूले एमालेको पार्टी कार्यालय बनाइदिँदै छन् । राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको उनको भनाइ छ । पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुनेगरी गरिएको निर्णय दिर्घकालमा आत्मघाती सावित हुने उनको ठहर छ ।





