पाथीभरा मन्दिरमा विशेष पूजा आराधना

२०८१ कार्तिक १, बिहीबार

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा बिहीबार पञ्चबलिसहित विशेष पूजा आराधना गरिएको छ।

पाथीभरा क्षेत्र विकास समितिले असोज शुक्ल पूर्णिमाको अवसरमा पञ्चबलि सहित मन्दिरमा पूजा आराधना गरेको हो। पञ्चबलिमा परम्परागत रूपमा पाँच प्रकारका पशु बलि चढाउने प्रचलन रहेको छ। जस अनुसार भेडा, बोका, हाँस, कुखुरा, परेवाको बलि चढाइएको छ। पाथीभरा देवीको उत्पत्ति नै भेडाको बलि चढाएर पुजाआराधनाबाट भएको भन्ने किंवदन्ती रहेकाले भेडा सहितको पञ्चबलि चढाएर पूजाआराधना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

देवीको प्रसन्नताको लागि पञ्चबलिको विशेष महत्त्व रहेको जनविश्वास छ। यसअघि पाथीभरा मन्दिरमा यस प्रकारको पूजा आराधना गरेको पाइएको छैन। पाथीभरा आउने केही भक्तजनले आफ्नो भाकल अनुसार भेडा, बोका, पाठी, हाँस, कुखुरा, परेवाको बलि दिने गरेका छन्। तर पछिल्लो समय बलि दिने प्रथा भने न्यून हुँदै गएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।

पाथीभरा मन्दिरमा बिहीबार १ हजार ४ सय २२ जना भक्तजन दर्शन गरे। पछिल्लो तीन दिनमा करिब ४ हजार दर्शनार्थी पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। यस्तै, असोज महिनामा ५ हजार ९ सय ४९ जना दर्शनार्थीले पाथीभराको दर्शन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार