काठमाडौँ : संयुक्त राज्य अमेरिकाले युक्रेनविरुद्धको युद्धमा रुसका लागि ड्रोन बनाएको भन्दै दुई चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको छ। अमेरिकाले चीनमा रहेका ड्रोन आपूर्तिकर्ता र उनीहरुको रुसी साझेदारमाथि प्रतिबन्ध लगाएको सीएनएनले जनाएको छ।
लामो समययता वासिङटनले चीनमाथि हतियार बनाउन सहयोगी दोहोरो प्रयोजनका सामान र पार्टपुर्जा पठाएर रुसलाई युद्धमा सघाएको आरोप लगाउँदै आएको छ।
यद्यपि चीनले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ। बिहीबार अमेरिकी ट्रेजरी डिपार्टमेन्टले दुई चिनियाँ कम्पीको हतियार आपूर्तिमा मस्कोसँग प्रत्यक्ष सम्बन्ध रहेको आरोप लगाएको छ।
यी कम्पनीहरुले मस्कोको ‘गार्पिया सिरिज’ लामो रेन्जका मानवविहीन हवाइ साधन उत्पादनमा रुसी प्रतिरक्षा कम्पनीसँग सहकार्य गरेको डिपार्टमेन्टको आरोप छ। ड्रोनहरु डिजाइन, विकास र चीनमै बनाएर युद्धमा प्रयोग गर्न पठाइएको अमेरिकी भनाइ छ।
रुसले युक्रेनविरुद्ध गार्पिया परिचालन गर्दै आएको छ। जसले युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्याउनुका साथै ठूलो मानवीय हताहती समेत हुने गरेको छ। अमेकिराले प्रतिबन्ध लगाएकामा जियामेन लिम्ब्याक एयरक्राफ्ट इन्जिन कम्पनी र रेडलिपस भिक्टर इन्डस्ट्री शेन्जेन कम्पनी रहेका छन्।