सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए : वर्षमान पुन

२०८१ कार्तिक २, शुक्रबार

रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन् । गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५ औँ वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकाङ्क्षा र भावनाअनुसार नचलेको बताए ।

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले प्रतिनिधिसभाका दुई प्रमुख दल कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप उनको थियो ।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्त्वहरूकै स्वार्थमा काम गरेको टिप्पणी पुनले गरे । ‘बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन ।’

सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उनको भनाइ छ । सरकारमा रहका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे ।

फरक प्रसङ्गमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ पछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको औँल्याए ।

आफूले अर्थमन्त्रीका रूपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा तथ्याङ्क नै पेस गरेको उल्लेख गर्दै उनले ३० वर्षको पञ्चालयतकालमा ७ हजार किलोमिटर, संसदीय व्यवस्थाको अवधिमा १८ हजार किलोमिटर र गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा देशभर १ लाख किलोमिटर सडक निर्माण भएको बताए । त्यसलाई उनले गणतान्त्रिक व्यवस्थाको सकारात्मक सूचकका रूपमा व्याख्या गरे ।

‘३० वर्षको पञ्चालयकालमा ७ हजार किलोमिटर मात्र सडक बनेको रहेछ । बहुदलकालमा १८ हजार किलोमिटर सडक थियो । गणतन्त्रको पछिल्लो १५ वर्षमा १ लाख किलोमिटर सडक बनेको छ । हो एउटा सकारात्मक उदाहरण हो’, पुनले भने । यद्यपि अहिले भएकै विकासबाट सन्तुष्ट भएर बस्न नमिल्ने र धेरै गर्न बाँकी रहेको उनले औँल्याए । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीका पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको पुनले बताए । बहुदलीय

प्रजातन्त्रको पुनर्स्थापनापछि सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्ने नीति अख्तियार गरेका कारण ती सेवा हुनेले लिने र नहुने अवसरबाट वञ्चित हुनेजस्तो अवस्था रहेको भन्दै उनले दोस्रो चरणको आर्थिक सुधारमार्फत विद्यमान अवस्थामा परिवर्तन गर्नुपर्ने औँल्याए । आफूले चालु आर्थिक वर्षको बजेटमा दोस्रो चरणको आर्थिक सुधारको नीति अघि सारेको चर्चा गर्दै उनले वर्तमान अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि आयोग गठन गरेको उल्लेख गरे ।

मुलुकको आर्थिक विकासका लागि नयाँ आर्थिक केन्द्रहरूको निर्माण जरुरी रहेको व्याख्या गर्दै पुनले आफूले चालु आर्थिक वर्षको बजेटमा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार