झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसमा आगो लगाएका छन् । आगजनीबाट बसको अगाडिको भाग जल्नुका साथै सिसाहरू फुटेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि शनिबार दिउँसो साढे १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका– ७ का ५५ वर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुर्घटनापश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डीएसपी चन्दले बताए । घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
दुर्घटना कारण पूर्व पश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो । प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आउजाउको व्यवस्था मिलाइएको थियो । बस चालक घेरादह नगरपालिका–१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।