काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो राजनीतिक बाटो बिराएको आरोप लगाएका छन् ।
नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २ दशकदेखि वकालत गर्ने थापाले अहिले आएर नयाँ राजनीतिक दलमाथि प्रतिशोध साँधेको भन्दै कटाक्ष गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘म यहाँबाट नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिन चाहन्छु । गगन थापा तिमी पनि नांगियौ अब । किनकी यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यासहरु गर्न चाहनेहरु आउँदैगर्दा उ आत्तियो । र ओलीको संगतमा मात्तियो । अब उनलाई पनि धन्यवाद कि तिमी पनि नांगियौँ,’ उनले भने ।
त्यस्तै संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको पुष्टि गरे पनि सरकार केवल रवि लामिछाने जोडिएको सहकारीको मात्रै चर्चामा रमाएको टिप्पणी गरे ।