नवलपुर : नवलपुरमा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गीको घटनास्थलमै मृत्यु भयो । ३१ जना घाइते भए ।
घाइतेमध्ये १८ जनाको गम्भीर अवस्थामा चितवन मेडिकल कलेल भरतपुरमा, १४ जनाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा क्षमताभन्दा बढी यात्रु राख्नु दुर्घटनाको मुख्य कारण रहेको नवलपुर प्रहरीले जनाएको छ । पाँचदेखि सात जनासम्म अट्न सक्ने बोलेरोमा ३४ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
सो गाडी अरू बेला बुलिङ्टार–मुण्डे–दलदले–कावासोती चल्ने गरेकोमा मुण्डेमा प्रहरी चेकिङ हुने गरेकाले चेकिङ छल्न बुलिङटारबाट बालुवाडाँडा हुँदै कावासोती आउन लागेको घाइते यात्रुले बताएका छन् । प्रहरी उपरीक्षक ढकालले पनि बालुवाडाँडामा प्रहरीको नियमित चेकिङ नहुने गरेको बताए ।
गाडीबाट हाम फालेर ज्यान बचाएका बुलिङटार –१ का अर्जुन नेपालीले मुण्डेमा प्रहरी हुने भन्दै बालुवाडाँडाबाट कावासोती ल्याउन लागेको र घुम्तीमा तीव्र गति र यात्रुको सङ्ख्या बढी भएकाले दुर्घटना भएको बताए । आफू हाम फालेको केही सेकेन्डमै दुर्घटना भएको र आफूले नै गाडीमा च्यापिएका यात्रुको उद्धार गरेको उनले बताए ।
आइतबारदेखि विद्यालय र क्याम्पस खुल्ने भएकाले दसैँ मान्न घर गएका धेरै विद्यार्थी दुर्घटनामा परेका कावासोती १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए ।