पोखरा : पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो । उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको म्याद थप भएको थियो ।





