मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

२०८१ कार्तिक ८, बिहीबार

मुस्ताङ : हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रूपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।

मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरू उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रविन सुवेदीले बताए । उनका अनुसार पछिल्लो एक सातायता दैनिक चार हजारभन्दा बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।

दसैँ–तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिरनजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटेल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटेल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय मुक्तिनाथका अनुसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रीय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरू सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताए । सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भए पनि दसैँलगत्तै दिनभर भक्तजनहरूको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

‘भक्तजनलाई लाइनमा बसेर सहज रूपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नुपर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दशनार्थीको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ,’ उनले भने। मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको वास हुने जनविश्वास रहेको छ । मन्दिरपरिसरमा रहेका १०८ धारा र मन्दिरको अगाडि रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिए ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटेल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेसँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार