पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो ।
डीएफएल जाँचपछि उनको मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्न सक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै डीएफएलमा पठाइएको हो ।





