काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् ।
आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए ।
उनले भने – हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार… । खाने बेलामा आँखा नदेख्ने… खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानविन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरु छन् ।
अहिलेको सरकारले कसैलाई पनि समात, छोड, निकाल, उकास जस्ता कुराहरु गर्दैन । यो निस्पक्ष सरकार हो । निस्पक्षताबाट पछाडि पनि हट्दैन । दुई-चार हजार कराएर न्यायलाई प्रभावित पार्छु भन्ने ठानेका छन् भने, मैले विश्वास लिएको छु, त्यस्ता हाहुबाट अदालत प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै रहँदैन । त्यसबाट सिकिहाल्छ नि मान्छेले । त्यसोभए न्याय त जो कराउँछ त्यसले मात्रै प्रभावित गर्ने हुन्छ । यो कुरा अदालतलाई स्वीकार्य हुन्छ जस्तो लाग्दैन ।
मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुनेँ । अदालतलाई छानविन गर्न दिउँन । संसदीय छानविन समिति बनाउने कुरा आउँदा मैले यो आवश्यक छैन, अन्य छानविन गर्ने निकाय छन्, त्यहाँबाट गरौं भनेको हो । उनीहरु नै हो समिति बनाउँ भनेर उफ्रिने । समितिमा आफैं बसेका हुन् । म त थिइनँ । उहाँहरुको प्रतनिधि थिए । माओवादीको, राप्रपाको प्रतिनिधि थिए । सबैले सर्वसम्मतिले फलानो–फलानो चारजनाले ठगी गरेको भनेर सिफारिस गरेको छ ।
संसदले कारवाही गर भनेर बुझाउने । अनि सरकारले त्यसलाई कहाँ लगेर लुकाउने ? कारवाही गर्ने ठाउँमा पठाइदिनु परेन ? यो उफ्रिने कुराको कुनै अर्थ छैन । राजनीति भन्ने के हो नबुझेको, वडामा उठाउन ठिक थिए कि थिएनन्, ‘बाइ फ्लुक’ पार्टी बनाएका, भवितव्यमा यहाँ आएका, राजनीतिक संस्कार थाहै नपाएका तत्वहरुको कुरा हो ।





