काठमाडौँ : सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
बुधबार अबेर बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) बसन्त शर्माले बयान प्रमाणित गरेका हुन् । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिए ।
बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन ।’





