काठमाडौँ : भारतको राजधानी दिल्लीको शाहदरा क्षेत्रमा दिपावलीको रात एकै परिवारका ३ जनलाई गोली हानिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोली लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने १० वर्षीय बालक घाइते भएका छन्। पीडित तीनै जना एकै परिवारका हुन्।
घटनाबारे जानकारी दिँदै शाहदराका डीसीपी प्रशान्त गौतमले समाचार एजेन्सी पीटीआईसँग भनेका छन्, ‘हामीले लगभग ८:३० बजे पीसीआई कल प्राप्त गर्यौँ, जसमा हामीलाई गोली चलाइएको र केही व्यक्तिलाई गोली लागेको बताइएको छ। घटनास्थल पुग्दा तीन जनालाई गोली लागेको पाइयो।’
पीडितको बारेमा जानकारी दिँदै उनले अघि भने, ‘एक जनाको नाम आकाश हो, जसको उमेर ४० वर्ष हो। एक जनाको नाम ऋषभ हो, उमेर १६ वर्ष र आकाशका छोरा १० वर्षीय कृष शर्मालाई पनि गोली लागेको छ। आकाश र उनका भतिजा ऋषभको मृत्यु भएको छ। थप अनुसन्धान गरिरहेका छौँ।’
पीटीआईका अनुसार पीडितहरू शाहदराको फर्श बजार क्षेत्रमा आफ्नो घरबाहिर दीपावली मनाइरहेका बेला राति करिब ८ बजे गोली प्रहार भएको हो।