छोरीहरूले गरे बाबुको काजकिरिया

२०८१ कार्तिक १६, शुक्रबार

उर्लाबारी : मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बसेका छन् ।

शाहीको कात्तिक ६ गते मिर्गौला र कलेजो रोगका कारण निधन भएको थियो । शाहीका पाँच छोरीहरू छन् । परम्परागत हिन्दु संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिए । दशगात्र किरिया कर्म पनि गरिरहेका छन्।

मृतक शाहीको इच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काज किरिया गरेको आमा टीका शाहीले बताए । “बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम इच्छा पूरा गरिदिएका हौँ, छोरी जेनिसाले भने ।

जेनिसासँगै जस्मीन, कृष्टिना, कसिस र प्रेरणाले कपाल मात्र खौरिएका छैनन्, अरू सबै भेष किरियापुत्रीको जस्तै छ । सामाजिक कर्म पनि सबै प्रक्रिया पुगाएर गरिरहेका छन् । गाउँघरमा तिहारको झिलिमिली चलिरहेको बेला उनीहरू स्नेहपूर्वक बुबाको काजकिरिया गरिरहेका छन् । स्थानीयले छोरीहरूलाई स्याबास दिँदै वियोगमा साथ दिइरहेका छन् ।

शाही परिवारको यो निर्णयले समाजमा नयाँ सन्देश प्रवाह गरेको छ । केहीले पितृसत्तात्मक परम्परालाई चुनौती दिँदै छोरीहरूले गरेको कदमलाई स्वागत गरेका छन् । सुन्दरहरैँचा ५ का वडाध्यक्ष गणेश चौधरीले भने– किरिया गर्ने अधिकार छोरीहरूले आफै स्थापित गर्दै जानुपर्छ ।

छोराले मात्र किरिया बस्नु पर्छ भन्ने सामाजिक परम्परा अन्त्य भए मात्र छोराछोरी दुवै बराबरी भन्ने नारा समेत सार्थक हुने स्थानीय शिवकुमार भट्टराई भोजपुरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार