काठमाडौँ : मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ।
आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ झिकाएको हो।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ।
मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ।





