काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १२० को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसका आधारमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि, निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। न्याय परिषद्ले निरौला र पाण्डेलाई सर्वोच्चको न्यायाधीशका लागि असोज ११ गते सिफारिश गरेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरूलाई आइतबार राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।