कालीकोट : कालीकोटको पलाता गाउँपालिका- ३ राडूनेटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु भएको हो। पलाता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा यसअघि ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।