आफै पढ्ने विद्यालय बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

२०८१ कार्तिक २७, मंगलवार

कञ्चनपुर : कञ्चनपुरमा विद्यालय बसको ठक्करबाट एक आठ वर्षीय बालकको मृत्यु भएको छ । आफै अध्ययनरत विद्यालयको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका– ५ वनसमितिका अनमोल कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका– २ बाणिको डाईमण्ड इङलिस बोडिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयको कक्षा २ मा अध्ययनरत कुँवरको मृत्यु भएको छ ।

सोमबार साँझ कुँवरसहितका विद्यार्थी ओसारेर बस अघि बढ्ने क्रममा ठक्कर लाग्दा बालक घाइते भएका थिए । उनको भारतको इभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंकस्थित मामाघर बसेर उक्त विद्यालयमा पढ्दै आएका थिए ।

चरम लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयले विद्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन् । विद्यालय प्रशासन जिम्मेवार नभएको भन्दै आक्रोशित उनीहरुले विद्यालय घेराउ गरी दोषीउपर कार्बाहीको माग गरेका छन् । घटनाबारे कञ्चनपुर प्रहरीले छानबिन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार