कांग्रेस उपसभापति गुरुङसँग प्रहरीले लियो ५ घण्टा बयान

२०८१ कार्तिक २८, बुधबार

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सहकारीको रकम अपलचनका विषयमा सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पाँच घण्टा बयान लिएको छ ।

गुरुङलाई आज सीआईबीमा बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोड हिनामिनाका विषयमा घटना विवरणको कागज गराएको हो । गुरुङसँग प्रहरीले उनकी पूर्व श्रीमती ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख रुपैयाँका बारेमा सोधपुछ गरेको छ । धनराजले मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिएका छन् ।

२०५७ सालदेखि मितेरी सहकारीको कर्मचारी रहेकी गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङ २०७५ सालमा कार्यकारी प्रमुख थिइन् । ज्योति गुरुङको नाममा सहकारीबाट एक करोड १३ लाख ऋण प्रवाह भएको छ भने पछि ८४ लाख थप भएको हो । ज्योतिले एक करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज र ज्योतिबीच सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पत्ति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको स्रोत बताउँछ ।

धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारेसमेत बयान दिएका छन् । गुरुङले दिएको बयानको तथ्य खोजिने सीआईबीका एक अधिकृतले जानकारी दिएका छन् । सहकारी सम्बन्धी छानविन गर्न बनेको संसदीय विषेश समितिले पनि आफ्नो प्रतिवेदनमा धनराज गुरुङमाथि छानविन गर्नुपर्ने राय दिएकाले पनि सीआईबीले बोलाएको हो ।

गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी विरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ । मितेरी सहकारीका सञ्चालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार