काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार सिफारिस गरेको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका तर्फबाट कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस वागमती प्रदेश समितिको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।
डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति समेत हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्व स्ववियू अध्यक्ष हुन् ।





