काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरण सभा गर्दैछ।
सरकार नेतृत्वकर्ता दल एमालेले अराजकताका विरुद्ध सडकमा सभा गर्न लागेको हो। सभामा एमालेले १ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ।जागरण सभा नाम दिइएपनि एमालेले प्रतिपक्षीदललाई दबाबमा राख्न सडकमा उत्रने तयारी गरेको देखिन्छ। पछिल्लो समय एमाले र उसको नेतृत्वविरुद्ध आलोचना बढ्न थालेपछि काठमाडौंमा उसले जनप्रदर्शन गर्न लागेको हो।
जनप्रदर्शनमा उपत्यकाका तीनवटै जिल्लाबाट कार्यकर्तालाई सभास्थलमा ल्याउन हरेक जनवर्गीय संगठनलाई उर्दी जारि गरिएको छ। तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ। ट्राफिक व्यवस्थापनलाई असहज नहुने गरि दरबारमार्गमा सभा गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार यसअघि भृकुटीमण्डमा तय गरिएको कार्यक्रम सबैको सुझाव अनुसार सर्वसाधारणको आवागमनलाई सहज बनाउनकै लागि दरबारमार्गमा सारिएको हो।
सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्वोधन गर्नेछन्। काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेपछि सरकारको नेतृत्वकर्ता दल स्वयम् सडकमा ओर्लिएको छ। सरकार अफ्ठ्यारोमा परेको महशुस गरेको एमाले आफ्नो बचाउमा सडकबाट शक्ति देखाउन खोजेको कतिपयको बुझाई छ।





