काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधबार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले यसले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताए ।
‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिबिम्बित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपिच्छे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेशता छन् । जुन कुरा यहाँहरुले कायम राखि आउनुभएको छ । र मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट शुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो’ प्रधानमन्त्री ओलीले भने ।





