काठमाडौं : सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजी गरेका छन् ।
रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट बाहिर निकालिए लगत्तै रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा जम्मा भएको बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रविविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि रविलाई कास्कीबाट काठमाडौं झिकाइएको हो । भोलिदेखि उनको बयान शुरू गर्ने तयारी छ ।





