काठमाडौँ : भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा व्यवसायी राज कुन्द्रामाथि छानबिन गर्ने भएको छ। स्थानीय समयानुसार उनलाई सोमबार बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनिएकाे छ। ईडीले राजसँगै यस मुद्दामा संलग्न सबै व्यक्तिहरूलाई पनि सोधपुछको लागि बोलाएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। यसअघि नोभेम्बर २९ मा, ईडीले राज कुन्द्रा र पत्नी शिल्पा शेट्टीको घरमा छापा मारेको थियो।
साथै, राज कुन्द्राको कार्यालय र उनीसँग काम गर्ने व्यक्तिको घरमा पनि छापा मारेको थियो। राज कुन्द्रा माथि हटसट मार्फत पोर्न सामग्रीको उत्पादन र वितरण गरेको आरोप छ। उक्त एप गुगल र एप्पल स्टोरमा उपलब्ध थियो, तर २०२१ मा कुन्द्राविरुद्ध मुद्दा दायर भएपछि हटाइएको हो। शिल्पा शेट्टीका वकिल प्रशान्त पाटिलले आराेप अस्वीकार गर्दै शिल्पा शेट्टीको यस मुद्दासँग कुनै सम्बन्ध नभएको जिकिर गरेका छन्। पाटिलले यस विषयमा पूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै शिल्पाको नाम सञ्चारमाध्यमले लिन नहुने तर्क गरेका छन्।
राज कुन्द्राले पनि इन्स्टाग्राममा पोस्ट गर्दै शिल्पाको नाम बारम्बार लिने कुरा स्वीकार्य नभएको स्पष्ट पारेका छन्। आफूले चार वर्षदेखि पूर्ण सहयोग गर्दै आएको बताउँदै उनले सत्यको विजय हुने विश्वास समेत गरेका छन्। कुन्द्रा अश्लील सामग्री बनाएर प्रसारण गर्नेलगायत विभिन्न आरोपमा २०२१ मा पक्राउ परेका थिए। केही महिनाअघि ईडीले शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्राको ९७ करोड ७९ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको थियो।





