रौतहट : रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्ष रामजीत चौधरी बाघको आक्रमण बाट गम्भीर घाइते भएका छन्।
बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत रहेको वीरगन्ज स्थित बयोधा अस्पतालमा गएर आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले भेटेका छन्। भेटको क्रममा अध्यक्ष प्रभु साहले घाइते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए। शनिवार बिहान बाघको आक्रमणमा परी घाइते भएका वडा अध्यक्ष रामजीत चौधरीको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।
शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा
गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पटाइरहेका थिए। सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासि बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साइनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथि बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाइते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको बताएका छन्। थप उपचारका लागि काठमाडौँ लगिएको छ।





