नेपाल र चीन प्राचीन ज्ञानका भूमि हुन्: प्रधानमन्त्री

२०८१ मंसिर १९, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन दुवै ज्ञानका प्राचीन भूमि भएको बताएका छन्। आज बिहान चीनकाे बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र चीन दुवै प्राचीन ज्ञानका भूमि भएको बताएका हुन्।

‘महान् दार्शनिक र ऋषिहरूको शिक्षाले हाम्रो पुस्तालाई प्रेरित गरेको छ,’ विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘ऋषिमुनीहरुको शिक्षाले संसारभरका धेरै जीवनलाई पनि प्रभावित बनाएको छ।’

उनले नेपाल र चिनियाँ भूमिका संसारका धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे। ‘ती सभ्यताका महानता हाम्रो समाजको कहिल्यै नटुट्ने जग हुन्,’ उनले भने, ‘ती सभ्यताहरू अझै पनि आधुनिकतातर्फको हाम्रो यात्रामा प्रतिध्वनित छन्। हाम्रो क्षेत्र समर्पण र लगनशीलताको धनी छ। हाम्रा पुर्खा ती विशेषता निर्माण गर्न सक्षम थिए।’

प्रधानमन्त्री ओलीले हाम्रा पुर्खा विचारक मात्र नभएर आविष्कारक र दूरदर्शीसमेत रहेको उल्लेख गरे। त्यसक्रममा प्रधानमन्त्री ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरे।

‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालकाे मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु,’ उनले भने।

ओलीले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताए। सम्बोधनको क्रममा उनले चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे। यही मंसिर १७ गते चीनको चार दिने भ्रमणमा गएका ओली २० गते काठमाडौँ फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार