एन्जल्स हार्ट र हिमरश्मि क्वार्टरफाइनलमा

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौँ : एन्जल्स हार्ट र हिमरश्मिले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलतर्फ बिहीबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको छात्र बास्केटबलमा हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६–१२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। हिमरश्मिका अजय खत्रीले सर्वाधिक सात स्कोर गरे। एन्जल्स हार्टले भने रोजमेरीलाई २९–२० ले हरायो। एन्जल्सका लागि अदित पुनले १४ अंक जोडे। जुनियर ब्वाइजमै जीवनज्योतिले पद्मचक्रलाई १४–१० र सृजना ज्ञानसागरले काभ्रेस्थलीलाई २०–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

त्यस्तै जीवनज्योतिका आयुश तामाङले आठ र सृजना ज्ञानसागरका विप्लव लामिछानेले ६ अंक बटुले। गल्र्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८–१६, हिमरश्मिले पद्मचक्रलाई २८–१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९–१५ र मानसिंहले एन्जल्सलाई २२–१४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। लालीगुराँसकी प्रियान्शु पन्थले ६, हिमरश्मिकी निमा तामाङले १५, ल्यान्डमार्ककी कृजिशा पुतुवारले ६ र मानसिंहकी देविका बोगटीले १० अंक जोडे।

त्यस्तै उसुमा किन्डर गार्टेन टिम च्याम्पियन बन्यो। किन्डर गार्टेनले आठ स्वर्ण, तीन रजत र एक कांस्य जित्दै उपाधि रक्षा गर्‍यो। लालीगुराँस दोस्रो हुँदा दुई स्वर्ण र तीन कांस्य जित्यो। एक स्वर्ण, आठ रजत र दुई कांस्यसहित हिमरश्मि तेस्रो भयो। थाउलोतर्फ नान छ्वानको पुरुषमा एलेक्स महर्जन र महिलामा करिना बोहरा तथा ताइची छ्वानको पुरुषमा एनेक्स महर्जन र महिलामा विपना तामाङले किन्डरगार्टेनलाई स्वर्ण दिलाए।

सान्सौंको महिला ४२ केजीमा किन्डर गार्टेनकी आयुष्ना अधिकारी र ४५ केजीमा किन्डर गार्टेनकै अंकिता श्रेष्ठले स्वर्ण जिते। यसै विधाको ४८ केजीमा लालीगुराँसकी अनु मोक्तानले स्वर्ण जितिन्। विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे।

त्यस्तै मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बिहीबार कबड्डीतर्फ छात्रमा तीन र छात्रामा चार गरी सात खेल भए। छात्रमा प्रारम्भले कालिकाशरणलाई ५७–३४, लालीगुराँसले हिमरश्मिलाई ५०–२५ र जितपुरले कालिकाशरणलाई ५१–२५ ले पराजित गरे। छात्रामा सिद्धार्थ मोडलले कौशललाई ४३–३१, मनमैजुले बालकुञ्जलाई ५९–६, ग्रामसेवाले सृजना ज्ञानसागरलाई ५४–१९ र सेक्रेट हार्टले नेपालरत्नलाई ४०–१९ ले हराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार