काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाग लगायत बाँकी तराईका भूभागका साथै उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो पनि कोसी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। त्यसैगरी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना छ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।





