मंगलबार सार्वजनिक बिदा

२०८१ मंसिर २४, सोमबार

कीर्तिपुर : सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ। यस क्रममा पाँगाको बालकुमारी र विष्णुदेवीको रथ यात्रा गराइन्छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिरपरिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ।

काठमाडौंको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ। आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मंगलबार (२५ मंसिर) बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउनेछन्।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन्। सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार